Sambhodhan

tibet book

Sambhodhan

 99.00

SKU: j16 Category: Product ID: 2438

Product Description

फरार अभियुक्तको तिब्वत भ्रमण

म संसारका दुइटा तिब्वतलाई चिन्दछु— एउटा, भिसा लिएपछि मात्र प्रवेश गर्न पाइने हिमालपारिको तिब्बत र अर्को, भिसा नलिइकनै भित्रैसम्म प्रवेश गर्न पाइने हिमालवारिको तिब्वत । भिसा लिएपछि मात्र प्रवेश गर्न पाइने हिमालपारिको तिब्बतमा पुगेका बेला मैले बौद्धधर्मको समुन्नत स्वरुप देखेँ । शिवको बास रहेको कैलाश र मानसरोवर देखेँ । हाम्रै ‘‘झिँगाछें’बाट नाम सापटी लिएको ‘‘सिगाचे’(जसलाई सिगात्से समेत भनिन्छ) शहर देखेँ । राजधानी ल्हासा देखेँ । पोताला दरवार, टाशिलुम्बु गुम्बा, जोखाङकी भृकुटी, शाक्य गुम्बा, थुङ्ला, थिङ्री, हाम्रो उहिलेको ‘‘कुती’र उतापट्टिबाट देखिने हाम्रै हिमालका उत्तरी पाटाहरू देखेँ । सुख्खा क्षेत्र र साँच्चैको मरुभूमिलाई पनि कसरी विकासको झिलिमिलीले सिँगार्न सकिन्छ भन्ने कुराको जीवन्त उदाहरणको रूपमा रहेको ‘बेइजिङ जाने ‘रेल’र पौराणिकतासँग नजिकैको साइनो भएको ड्रेपुङ गुम्बा समेत देखेँ । मैले यो तिब्वतमा धेरै कुरा देखेँ । नेपालको नाम, मान र सम्मान पनि देखेँ । बाँच्नुको स्वाभिमान पनि देखेँ । मिलारेपाको गुफाजस्तो भित्रै धसिएको कुरो र तिब्बतको आर्थिक प्रगतिजस्तो बाहिरै उक्सिएको कुरो पनि देखेँ ।

अनि, यसको ठीक ७ वर्षपछि भिसा लिनै नपर्ने अर्को तिब्वतको भ्रमण गर्ने पनि मौका पाएँ मैले । यो तिब्वतभित्र प्राचीन गुम्बाहरू त थिएनन् तर मनको विस्तृत आँगनमा माया, प्रेम, हार्दिकता, साहित्य–संगीत–कलाप्रतिको अतुलनीय लगाव, शृङ्गारिक चेतना, प्रतिभाको प्रकम्पन र अग्रजहरूप्रतिको अनन्य श्रद्धाभावको रहरलाग्दो र विशाल बगैँचा थियो । फेसबुकको भित्तोबाट सुरु भएको यो ‘‘पहिचान’ले बिस्तारै भेटहरू बाक्ला बनाउँदै गयो र यो ‘तिब्वत’लाई मैले झण्डै आधादर्जन जति साहित्यिक कार्यक्रमहरूमा भेट्ने मौका पाएँ । शब्दहार क्रियशन्स प्रा.लि. ले आयोजना गर्ने गरेका यस्ता कार्यक्रमहरूमा म या त पुस्तकको विमोचक, या त कार्यक्रमको सभापति वा आगाडि कुनै विशेषण समेत झुण्डिएको ‘‘अतिथि’बनाइएको हुन्थेँ । यस्ता अवसरहरूमा चौडा अनुहारसहितको एउटा शालीन मंगोलयुवकलाई म सधैँ देख्थेँ जो हेर्दैमा अनुशासित, जिज्ञासु, भद्र र बक्ताको अनुहारमा दृष्टिविन्दु जमाएर कुरा सुन्ने राम्रो श्रोताको रूपमा देखिन्थ्यो । ननजिकिएकै अवस्थामा पनि यस युवकले मेरो ध्यान खिँच्दै गयो । उसको शरीरको आकर्षक बनावट र प्रेमिल व्यवहारले म क्रमशः ऊप्रति आकर्षित हुँदै गएँ । ऊ क्रमशः मेरा नजिक आउँदै गयो । यसरी नजिक आइपुगेको एकदिन उसले मलाई ‘‘सम्बोधन’ गर्यो र केही लेखी पाउने अपेक्षा गर्यो । अनि, त्यसपछि बल्ल सुरु भयो मेरो बिना भिसाको तिब्वत–यात्रा ।

तिब्वतभित्रको यो भ्रमणले मलाई उनको लेखाइका अनेक विशेषताहरूसँग परिचित गरायो । उनका मनका कुराहरू, उनका चोटका थुप्राहरू, उनका रहरहरू, जिज्ञासाहरू र आकांक्षाहरू, तिब्वत दर्लामी आँसुहरू, हाँसोहरू र मनको एउटा कुनामा ‘‘ब्लु आइस’झैँ जमेर बसेका अटल विश्वासहरू, आस्थाहरू र निष्ठाहरूसँग समेत परिचित हुने मौका पाएँ–मैले । उनको जीन्दगीलाई हेर्ने दृष्टिकोण, राजनीति, हालको यथार्थ र शृङ्गार चेतना सबै सबैले नै उनलाई ‘‘घाइते’बनाएको पाइन्छ चाहे त्यो सोल्टिनीको आँखाको छुराले होस्, चाहे राजनीतिको आजको ह्रासोन्मुख मूल्यको कुराले नै किन नहोस् । तिब्वतले खुला रूपमा छाती थापिदिएको छ– र, त्यहीँमाथि निर्बाध बहिरहेछ आजको आग्रही राजनीति, त्यहीँमाथि सल्बलाइरहेका छन् चोटका पहाडहरू र त्यसैमा टेको लागेर बसेका छन् केही सुदूर विश्वासहरू । जस्तो कि, उनी आफैँ भन्छन्—
लालीगुराँस, सुनाखरी, चाँप फुल्ने ठाउँमा ।
मेरो पनि कोही त छ, वादलपारि गाउँमा ।। –पेज नं. १०

तर जिन्दगीले त्यहीँ पनि खोँचे थाप्छ र यो विश्वासलाई शंकारहित रहिरहन दिँदैन । जस्तो कि—
जता हेर्छु संसारै यो, रित्तो रित्तो देखदैछु म
कसले पूरा गरिदेला, खाली ठाउँ जिन्दगीको ? – पेज नं. १९

तिब्वतका प्रस्तुत गजलहरूमा हाम्रो माटोको सुवास छ, संस्कृतिको मिठास छ र जनबोलीको यथार्थरूप समेत अंकुरित हुन पुगेको
छ । उनलाई कुनै शहरिया वा उत्तरआधुनिक पनि हुनु छैन, कतै ठालु पल्टिनु पनि छैन । उनी त सिधै भन्छन्—

म त गाउँले मान्छे हजुर, गाउँकै कुरा गर्छु
उही विकट उही दुर्गम, ठाउँकै कुरा गर्छु । –पेज नं. २६

तिब्वतका गजलहरूको बिम्बविधान पनि ग्रामीण जीवनमुखी नै छ । गाउँका लोकप्रिय शब्दहरूलाई नै उनले जीवनका जटिलताहरूसँग जोडेर उभ्याएका छन् । उदाहरणका लागि भन्ने हो भने उनले प्रयोग गरेका मनको आली, संघर्षको सिलौटो, उमङ्गको सगरमाथा, पिरतीको बाली, जून फुलेको बेला, पिरतीको बृन्दावन, ओठको सहीछाप, विरहको पर्मजस्ता बिम्बहरूले यी गजलहरूलाई अझ हाम्रा हृदयका नजिक ल्याइदिएको भान हुन्छ । सालैजो, यानीमाया आदि जस्ता लोकभाकाप्रतिको प्रेमलाई गजलमै उतार्नु, रोधीलाई सम्झनु र नेपालको समुन्नत संस्कृति र सामाजिकसद्भावलाई नै आफ्नो असली ‘‘पहिचान’ठान्नु जस्ता कुराले तिब्वतको हृदयको विशालतालाई पनि संकेत गरिराखेको प्रतीत हुन्छ ।

तिब्वतको जीवनप्रतिको मोह र शृङ्गारिकताप्रतिको आशक्ति पनि धेरै हदसम्म रङ्गीन छ । आधाबाटो हिँडिसकेपछि चिनेको जिन्दगीको प्रसंग होस् वा सोल्टिनीको जुरो हेरेर टोलाइरहेको कुरो होस्— सबै अवस्थामा तिब्वतको सुकुमारतामा कुनै परिवर्तन आएको देखिँदैन । त्यसैले यो सम्बोधन अब उनको एकान्तिकताको आत्मालाप मात्र रहेन, बरू उनीद्वारा युगलाई गरिएको सम्बोधन बन्न पुगेको छ । कतैबाट कुनै किसिमको मायावी बन्धनमा नपरेको यो ‘‘स्वतन्त्र’ तिब्वतले किन ‘शरणार्थी जिन्दगानी बाँच्यो तिब्वतले’ भनेको होला ? यो ‘‘तिब्वत’ शब्द उनैको तखल्लुस हो— अरू कसैको कुरो होइन । तसर्थ, यसको अर्थ र मर्म पनि उनैले जानून् ।

हामीलाई त यत्ति मात्र थाहा छ कि— यो सुकुमार तिब्वत, स्वतन्त्र तिब्वत रहेकै अवस्थामा निस्किएको एउटा प्रेमिल दस्तावेज हो । यो तिब्वतको सम्बोधन हो— स्वतन्त्र तिब्वतको सम्बोधन । तर दलाइ लामाको होइन । त्यसैले यसबाट पेन÷जोय अफ लुकिङ मात्र प्राप्त हुन्छ आर्ट अफ लिभिङ होइन ।
भिसा मिल्यो ? धेरै राम्रो, जानोस् तिब्बतसँगै
भिसा छैन ? त्यसो भए आउनोस् तिब्वतसँगै
हिमालपारि एउटा तिब्बत, हिमालवारि एउटा
जता पैले गए पनि, धाउनोस् तिब्वतसँगै
संस्कृतिको मायाभित्र, कस्तो शक्ति हुन्छ ?
त्यही बुझुने एउटा मौका, पाउनोस् तिब्वतसँगै
गामबेँसीलाई माया गर्ने, यो ‘‘नेपाली’ठिटो
गाउँछ गीत पिरतीको, गाउनोस् तिब्वतसँगै
अब साँच्चिकै सुरू गर्ने होइन त तपाईंले पनि यो स्वतन्त्र तिब्वतभित्रको शृङ्गारिक यात्रा ? अब रमाउने होइन त तपाईं पनि बिना भिसाको यो तिब्वत यात्रामा ?
बधाई छ हरेक यात्रीलाई । शुभयात्रा १११
–प्रतीक ढकाल
मनोहरबस्ती, काठमाडौँ ।
१ जनवरी २०१४
(१७ पौष २०७०)