Product Description
सुखद यात्रा
–प्रभाती किरण
मलाई एकान्त प्यारो लाग्छ । आफैँसँग बोल्न, वार्तालाप गर्न, विचार मन्थन गर्न रमाइलो लाग्छ । हुन सक्छ पुस्तकमा पढिएको ‘मानिस सामाजिक प्राणी हो’ भन्ने कथनभन्दा म धेरै जेठो छु । आफूलाई मात्र प्रेम गर्ने अधिकार मलाई छ भनेर डार्बिन बाजेले वकालत गरिदिएका छन् । म ‘म’ हुन पनि त केही फरक हुनुपर्यो । यही अहम्ले होला म आफूलाई सधैँ उच्च देख्छु र अगाडिकाहरुभन्दा फरक । नत्र मान्छेको भीडमा कलकाँटाले उत्पादन गरेका सामानभन्दा बिलकुल फरक हुने थिएनौँ हामी । हामी अर्थात् मान्छे । हो, हामीमा केही त्यस्तो हुनु जरुरी छ जसले हाम्रो अलग पहिचान बनाओस् नत्र हामी कसरी ‘हामी’ हुन्छौँ र ! मान्छे यही परिचयको खोजीमा हुन्छ । जसको खोजीमा देखिएकी छन् गजलकार प्रतिभा गौतम पनि ।
घरदेश छोडेर परदेश जाने नेपालीहरुको लर्को धेरै लामो छ । यही लर्कोमा उभिएर अर्काको भूमिमा पसिना भविष्य खोज्न पुगेकी नेपाली चेली प्रतिभा प्रवासबाट गजलका पन्तुरो बोकेर आएकी छन् ।
दिनपछि आउने रातको त्यति चिन्ता हुँदैन मान्छेलाई किनकि ऊ एउटा आशमा हुन्छ – रात बितेर प्रभात आउँछ भन्ने । रातको कहाली क्षणिक हो भन्ने सोच्छ र निदाउँछ ऊ । तर, हरेक प्रहर कहालिएर बिताउन विवश आँखाहरुमा चमकको आशा गर्छ । यो मान्छेको जिन्दगी बाँच्ने काइदा हो । यही काइदाको त्यान्द्रोमा उल्झिएको हुन्छ उसको दैनिकी । यसैले बनाउँछ उसलाई प्रेमी । यसकै आडमा रच्छ स्वर्णिम स्वप्नलोक ।
मान्छे दिनप्रतिदिन पलायन हुँदै छ । गाउँ छोडेर सहर पस्यो, सहर छोडेर विदेश पस्दै छ । कतै श्रम पोख्न कतै भाग्य जोख्न । ऊ तौलिरहेछ आफूलाई हरक्षण, हरप्रहर । तरै पनि सन्तुष्ट हुन सकिरहेको छैन । न स्वदेशमा चित्त बुझाउन सक्यो न विदेशमा सन्तुष्ट रहन । स्वदेशमा उसलाई अभाव दुख्थ्यो । निरस दैनिकी दुख्थ्यो । विदेशमा उसलाई स्वदेश दुख्दो रहेछ । स्वदेशी हावा, पानी, माटो र मुटु बिझाइरहँदा रहेछन् । फोहोरी राजनीति, विकृत समाज, कुण्ठाग्रस्त जीवन देखेर वाक्क लागेपछि केही सुनौला सपना बोकेर विदेशिएको यो जत्था त्यसै गरी दुखिरहँदो रहेछ र बन्दा रहेछन् कवि ।
प्रतिभा गौतम मेरा लागि अपरिचित नाम थियो । अपरिचित अनुहार छ । तर गजलका शेरहरुले उनीसँग गराएका छन् साक्षात्कार र दिएका छन् परिचय । म गजललाई माया गर्छु । आफूजस्तै गजललाई माया गर्ने मान्छेसँग आत्मीयता बस्छ मेरो । विचार अलग हुन सक्छन् । जीवनदृष्टि पृथक् हुन सक्छ तर भोगाइ उस्तै हो हाम्रो । यो धरातलीय यथार्थ र विश्वव्यापी पीडासँग निकट हुन्छन् गजलकार । आफ्ना कुरा अरुकै जस्तो गरी भन्न तथा आफ्ना भोगाइ अरुकै जसरी चित्रण गर्न सक्ने क्षमता हुन्छ गजलकारमा । त्यसैले त गजलका शेरहरु जति पढ्यो उति नयाँ, जति सुन्यो उति नौला हुन्छन् ।
मैले प्रस्तुत ‘जीवनका तरङ्गहरु’भित्र समेटिएका गजल तथा मुक्तकहरु धेरै नजिकबाट नियालेको छु । सङ्ग्रहका गजल तथा मुक्तकहरुले प्रेमप्रणयलाई नै मूल कथ्य बनाएका छन् । सर्जक मानिसका छद्मभेषी स्वरुप, त्याग, समर्पण, घृणा लगायतका संवेगात्मक वृत्तिहरुको सेरोफेरोमा रमाएकी छिन् । यिनका गजलमा समयुगीन पीडा आएका छन् । विषयगत विविधता आएको छ । अतीतका सुन्दर क्षणहरु र सुनौलो भविष्यको कामना भटिन्छ ।
जीवनमा आरोह अवरोह आइरहन्छ । घामछाया नै जीवनको सुगन्ध हो । आफूले हरियाली वसन्तको आशा गरे पनि साथमा तुसारे शिशिर पर्छ । यात्रा सम्मको मात्र हुँदैन । अनेक जँघारहरु भेटिन्छन् । घुम्ती र चोकहरु भेटिन्छन् । कतिपय अवस्थाहरु अज्ञात यथार्थभित्र रहेका हुन्छन् ।
कसोकसो उखेलिए जीवनका वासहरु
पालैपालो उडे अनि मनका सारा आशहरु ।
मान्छेले सोचे सम्झेजस्तो जीवन यात्रा कसको पो होला र ? मान्छेले चाहेजस्तो मात्र सधैँ हुँदैन । एउटा कुरा खोज्यो अर्कै भइदिन्छ । एउटा गर्न खोज्यो परिणाम अर्कै निस्कन्छ । जिन्दगीको गणितमा घेरै जसो जोडघटाउ बिग्रन्छ ।
न त टुकी सँगालियो, न त बिजुली नै आयो
जसो–तसो बनेको घर, त्यही पनि त बगायो ।
समय अत्यन्त शक्तिशाली छ । समयले मानिसलाई कहाँ पुर्याउँछ, कुन भूमिकामा अभिनय गराउँछ केही पत्तो हुँदैन । नेपाली समाजमा लगनपछिको पोते भन्ने उखान धेरै लोकप्रिय छ । समयमा भएन भने पछि हुनुले कुनै माने राख्दैन । गजलकार त्यही समयको चर्चा गर्छिन् ।
बेमौसममा फूलहरु अनायासै हाँसे पनि
फुल्ने मौसम गुज्रेपछि त्यस्मा शोभा खासै हुन्न ।
मान्छेमा इच्छाशक्ति त हुन्छ तर त्यसले कस्तो आविष्कार गर्छ भन्ने कुरा दुई कुरामा निर्भर गर्छन् । एउटा समय अर्को मानिसको लगनशीलता । दृढ निश्चयका साथ सङ्घर्ष गर्नेहरुले पक्कै शिखर चुम्न सक्छन् ।
खुसी हुन्छु भन्थेँ सधैँ तर हुन सकिएन
शिखर चुम्ने चाहना थ्यो, फेदै छुन सकिएन ।
जीवन भनेकै सङ्घर्षको अर्को नाम हो । मान्छेले सङ्कटका तगाराहरु पन्छाउँदै अघि बढ्नुपर्छ । विचार गरेर पाइला चाल्नुपर्छ । कहिलेकाहीँ मान्छेले जति प्रयास गरे पनि, सङ्घर्ष गरे पनि काला बादलहरु मडारिरहन्छन् । उसका पाइलाहरु लर्बराउन पनि सक्छन् । यस्तै अत्यास केही गजलमा देखिएको छ ।
कतिमात्र पन्छाउनु खै सङ्कटका काँडाहरु
एउटा साँघु तर्यो फेरि अर्कोतिर फस्नुपर्ने ।
अधिकांश गजलको भाव वैयक्तिक अनुभूतिमा सल्बलाएको छ । आफ्ना भोगाइहरुको प्रकाशनमा केन्द्रित छ । मान्छे स्वतन्त्रता चाहन्छ । उन्मुक्ति उसको पहिलो रोजाइ हो । यसैमा अवरोध भएपछि ऊ दुख्छ ।
खुलेर म हाँस्न खोजेँ आँधी आयो उर्लिएर
काँच जस्तै रहर अनि फुट्दै गए पालैपालो ।
केही गजलहरुमा मायालुलाई लगाइने प्रेमिल घुर्की पनि छ ।
सम्झनामै जिउँछु बरु फेरि कैल्यै भेट्दिनँ म
दिलैभित्र कुँदिएको चित्र पनि मेट्दिनँ म ।
गजल तथा मुक्तकमा विषयको विविधता अलि बढी अपेक्षा गरिन्छ । एकैखालको विषय प्रस्तुति कौशलभन्दा पृथक् विषय तथा प्रस्तुतिका साथ अझ परिष्कार र परिमार्जन, अध्ययन तथा निरन्तरको अभ्यासले नै मानिसलाई कुशल स्रष्टा बनाउँछ । एउटा सङ्ग्रह निकाले पछि मौन नरहेर अझ बढी जिम्मेवारी बोधका साथ लेखन कार्यमा सक्रिय हुने हो भने प्रतिभा गौतमबाट नेपाली साहित्यले अझ सुन्दर कृतिहरुको अपेक्षा गर्दछ ।
यो यात्राको आरम्भ मात्र हो । हरेक यात्राको आरम्भ पहिलो पाइलाबाटै हुन्छ । पाइला कत्तिको दह्रो चालिन्छ, त्यसले भने ठूलो अर्थ राख्छ । प्रतिभा गौतमको यात्राको आरम्भ अत्यन्त आशावादी देखिएको छ । सिर्जना र स्रष्टालाई जीवित राख्ने उसको निरन्तरताले हो । सफलताबाट प्राप्त हौसलाले हो । सुखद आरम्भका साथ ‘जीवनका तरङ्गहरु’ लिएर आएकी गजलकार गौतमलाई यात्राका क्रममा आइपर्ने अप्ठ्याराहरुसँग जुध्दै अघि बढ्न शुभकामना ।
prabhatikiran@gmail.com