Product Description
केही बाहिर छैन
“ईश्वर र फूलहरू” काव्यको नाम दिनुभएको छ, रामगोपाल आशुतोषले । यस शब्दविन्यासमा विरोधाभास तथा विसंरचनाको कतै आभास अनुभव हुँदैन । अरू समीप र सौमनस्यपूर्ण हुन्छ –एउटा अध्यात्म – ईश्वर र प्रकृतिको ।
एकप्रकारले प्रकृति र परमात्माको संयोजन र समावेशन पनि हो – यस शीर्षकमा र काव्यसंरचनाको विशेष परियोजनामा । सायद मलाई इतर र अतिरिक्त गहनतातिर प्रवेश गर्नु छैन, आशुतोषको सामीप्य र अभिव्यक्तिजगतमा मात्रै प्रवेश गर्नु छ । अन्यथा यसै शीर्षकको वरिपरि वेदवेदाङ्गको पनि संसार खुल्न सक्छ ।
आजसम्मका चिन्तनप्रक्रिया तथा परम्पराले यिनै समन्वयको विशद परिसर खोल्न खोजेको छ । विसमन्वयको पनि । के हो ईश्वर र के हो त प्रकृति अर्थात् के हो फूलहरू अनि अन्तःसम्बन्ध तिनीहरूको के हो – भन्ने प्रश्नहरू विद्यमान र व्याप्त छन् ।
नेपाली भाषा र नेपालभाषामा समान दक्षतासहित कवि रामगोपाल आशुतोष कविता लेख्नुहुन्छ । यस सङ्ग्रहमा नेपालभाषामा लेखेका रचनाहरू पनि समावेश गरिएका छन् । मूलतः कवि तथा स्रष्टा स्वयं भएकाले भाषाको भिन्नताले अभिव्यक्तिलाई प्रभाव पारेको छैन ।
यो प्रक्रिया पनि संरचनागत तथा निर्माणगत विशेष धरातल तयार गर्छ । सङ्केत गरिएर मात्रै नेपाली भाषागत तथा नेवार वा नेपालभाषागत वस्तुता त्यति भिन्न अनुभव हुँदैन । तर मूलतः मर्ममा भने, विशेष संस्कार र संस्कृतिको विम्ब भने सङ्केत हुन्छ ।
अघि मैले कविताको शीर्षकगत सङ्केत के हुन सक्छ भन्ने सम्भावना अनुमान गरेको थिएँ । अध्यात्म भनेको थिएँ । प्रकृति र पुरुष र ईश्वर र प्रकृतिको रूपक र विम्ब सङ्केत छ त्यहाँ र रचनाले रचित संरचित हुने क्रममा, विचारयात्रा गर्ने क्रममा विचारका विविध आश्रय बस्ती बस्दै अघि जान्छ ।
सतत र निरन्तर, एक बिन्दुबाट अर्को बिन्दुसम्म या बिन्दुहरूसम्म पुग्दानपुग्दै आस्थाका कैयौँ स्वभाव माथि–तल, उकालो–ओरालो चढ्दछन्, ओर्लिन्छन् ।
जीवनको आरोह–अवरोहको समान्तर अक्षर र वाक्यविन्यासको उहापोह, विमर्श तथा संवादको इतर भूमिमा इतर भविता र भूति बन्दछन् । अर्थात् बनिएका छन्, अर्थात् बनिने काम भएका छन् । आजको कविताको उत्कर्ष पनि हो यो । आशुतोष उत्कर्ष लेख्नुहुँदो रहेछ – म सङ्केतले र लेखनको प्रविधिले उनको – अनुभव गर्छु । यो मेरो व्यक्तिगतजस्तो अनुभव, मबाहेक अरूलाई हुँदैन भन्ने होइन, प्रशस्त हुन्छ, तर पाठकको जिज्ञासा र मानससापेक्षता अनुसार हुन्छ ।
मैले आशुतोषलाई भनेँ पनि – “भाइ, यो कविताजस्तै कविता होइन, अर्कै कविता रहेछ । यसको पाठ र पाठ्यताको विमर्श परम्परागत होइन, हेर्दा – पढ्दा – लेख्दा कुनै अन्य विधिको युक्ति अनुसरण गर्नुपर्छ ।”
ईश्वर र फूलहरू आर्किटाइप अर्थात् ‘आर्कि’ या आद्यविम्बको स्वभाव भिन्न छ । ईश्वर र फूलहरू भिन्न लेखन हो । प्रायः प्रायः अध्यात्म लेखन हो ।
फ्राइडिअ तथा युन्गीय सोचको आधार वा माक्र्सीय आधारले कविता कसरी मनोगत हुन्छ – त्यसरी पनि बुझ्नुपर्छ । आशुतोषको रचना शायद यस आधार र परिप्रदेय समस्या पनि हो र पाठ यसको अनुभवको जोखिम हो ।
आजकल हाम्रै नेपाली भाषाहरूमा अति उच्चतम स्तरका रचना लेखिन थालेका छन् । तीमध्येको उदाहरण आशुतोषको यो कविता हो ।
केही पङ्क्तिहरू यस्ता छन् ।
कुहिरो थियो
निस्तब्ध अँध्यारो सहर, गाउँबस्ती
निशाचरहरू तयार थिए
सहीछाप, गरिदिन बसियतनामा
तयार थिएनन् अधिकारका लागि लड्न
….. ….. इत्यादि ।
ईश्वर र फूलहरू र त्यसको विभिन्न विभाजन, अर्को खण्ड, यो इन्द्रेणीको रङ्ग र त्यसको विभिन्न विभाजन, त्यसपछि अर्को खण्डमा मध्यान्तर र त्यस अन्तर्गत भिन्न शीर्षकहरूका रचनाहरू लेखिएका छन् ।
लामो, मझौलो या छोटो नाम दिएर अध्ययन गरे पनि हुन्छ – सङ्ग्रहका कविताहरू । अन्यथा एउटा विशद सततता र चैतसिक निरन्तरतागत परिप्रेक्ष्यमा त्यस्तो लाग्छ यहाँ ईश्वर र प्रकृति पनि विखण्डित भएको छ । कतै नित्सेको मरेको ईश्वर अवतरित भएको महामनुष्यजस्तो या महादैत्य या महादैत्यजस्तो मनुष्य खोज्दा हुन्छ । अद्भूत अनुभूतिहरूसित यात्रा गर्नुहुन्छ – कवितासित । कतै आत्मगत सोचशैली र त्यसको क्रीडाकेली पनि ।
नित्सेले ईश्वरको अस्तित्व विखण्डन गर्यो – फेरि पछि डेरिडाले नित्से विखण्डन गरे । यसरी आज यसबेला विचारको विशेष जगत बन्दै छ । बिग्रँदै छ ।
वर्तमानको सापेक्षमा यस्तै परिस्थितिको पुनव्र्याख्या त होइन रामगोपाल आशुतोषको कविता ? अघि मैले त्यसै कारण लेखेँ – समस्या, आज यस्ता कविताहरू समस्या भएका छन् ।
समस्याको विखण्डन गर्ने जोखिम लिन सकिन्छ कि सकिँदैन । कि यो समस्या नै समस्या होइन र यो वर्तमानको स्वभावमात्रै हो । रामगोपाल आशुतोषका रचनाहरू पढिसकेपछि उक्त प्रश्न उभिन थाल्छ । अतः परम्परावाद या एक प्रकारको इतर यथास्थितिवादले, ईश्वर र फूलहरूलाई परास्त गर्न तीर, तरकश तैयार राख्न र सरसान्धा र प्रहारनिम्ति उद्यत बस्न खोज्छ ।
नेपालभाषा तथा नेपाली भाषाका सन्दर्भमा थोरै सङ्केत गरेको थिएँ – दुई सशक्त भाषाका ज्ञाता, स्रष्टाले लेखेका प्रस्तुत नेपाली भाषाका कविताहरू – तिनबाट भएका सम्प्रेषणहरूको विश्लेषण आवश्यक हुनेछ । शायद लेखन भाषाभन्दा अलग विषय होइन । तर यही लेखनलाई एरिस्टोटल, प्लेटो र आज लेवीट्रससम्मले बाह्य वा इतर वस्तु मान्न खोज्छन् । वास्तवमा केही पनि बाह्य होइन । त्यही र त्यसैमा अन्तर्निहित हो । धारणा छ ।
शताब्दीदेखि विमर्शमा आएका, गरिएका प्रस्तुत चिन्तन र विचारका आधारमा रामगोपाल आशुतोषका रचनाहरू अर्थात् पाठ या टेक्स्टलाई अबउप्रान्त विश्लेषण गर्नुपर्छ । यो प्रतीक के हो ? कवितामा अर्कै घटना घटिरहेको छ ।
हाम्रा नेपालका केही समृद्ध भाषा र तिनका संरचनागत प्रक्रियामा अनेकौँ प्रकारका द्वन्द्वात्मकता र जीवन्तता, हलचल आइरहेको छ र तिनै स्थिति –अवस्थितिहरूका अभिव्यक्ति हुन् यस प्रकारका विशेष रचनाहरू । डेरिडा भन्छन् टेक्स्ट बाहिर केही छैन । यही हो र आशुतोषको ईश्वर र फूलहरू पनि टेक्स्ट बाहिर छैन ।
२०६२ श्रावण २०
– ईश्वर बल्लभ
काठमाडौँ ।