View Cart “AGHATIT” has been added to your cart.
cover

Manjula

 175.00

SKU: j11 Category: Product ID: 2417

Product Description

नेपाली साहित्यका क्षेत्रमा एउटा नयाँ उपन्यास आउन लागेको छ । यो उपन्याससँगै एउटा नयाँ उपन्यासकार पनि नेपाली साहित्यका क्षेत्रमा देखापर्ने भएको छ । निश्चय नै, यो एउटा खुसी लाग्दो बिषय हो र यो अबसर प्रदान गर्ने स्रष्टा हुन् मधु शर्मा र यो उपन्यास हो– मन्जुला ।
उपन्यास लेख्न कठिन छ । उपन्यास जीवनको बृहत् कालखण्डलाई रोचक प्रकारले विभिन्न पात्रहरूको संयोजन गरेर लेखिने बृहत् आकारको कथा हो । त्यसैले यस्तो लेखनका लागि प्रशस्त दिमागी कसरत र लामो समय लाग्दछ । अतः धैर्य धारण गर्न नसक्ने र लामो समय दिन नसक्नेहरू उपन्यास लेखन कर्ममा जुट्न सक्दैनन् । त्यसै भएर उपन्यासका क्षेत्रमा प्रतिभाहरू देखापर्न समय लाग्छ । त्यसमाथि पनि लेखिकाहरू त झन् कम देखापर्छन् । यस्तो अबस्थामा मन्जुला उपन्यासको जन्म हुनु सन्तोष र खुसीको विषय हो ।
मैले लेखेको पहिलो उपन्यास प्रकाशित भएको छ दशक भइसकेको छ । २००६ सालमा ‘बसन्ती’ प्रकाशित भएपछि मेरो उपन्यास लेखन– यात्राअघि बढेको हो । यस हिसाबले हेर्दा मैले आधा शताब्दीभन्दा बढी समय उपन्यासका क्षेत्रमा बिताएको स्पष्ट छ । यस यात्रा–क्रममा थुप्रै उपन्यासकारहरू देखापरे । कोही लेख्दै छन् भने कोही केही लेखेर हराए । तर उपन्यास–लेखिकाहरूचाहिँ कमै देखापरेका छन् । यस परिप्रेक्ष्यमा मधु शर्माको यस उपन्यासको भूमिका लेख्न पाउनुलाई मैले सुखद संयोग मानेको छु ।
उपन्यास जीवन र जगत्को कथा भन्ने ठाउँ हो । उपन्यास समाजका पात्रहरूको व्यथा पोख्ने ठाउँ हो । तर कथा–व्यथा मात्र होइन उपन्यास, ती कथा–व्यथालाई कलात्मकताको जलप लगाई प्रस्तुत गरेपछि मात्र साँचो अर्थमा उपन्यास बन्छ र औपन्यासिकता देखापर्छ । मैले आफ्नो पहिलो उपन्यास ‘बसन्ती’मा ‘बसन्ती’को कथा–व्यथा र ऐतिहासिकतालाई प्रस्तुत गर्ने जमर्को गरेको थिएँ । अहिले मधु शर्माले मन्जुलामा आधुनिक युगकी एउटी नारी मन्जुलाका माध्यमबाट सामाजिक, मनोवैज्ञानिक एवं स्त्री–पुरुष सम्बन्धको दस्तावेज प्रस्तुत गर्नुभएको छ । यस उपन्यासमा प्रस्तुत गरिएका कथा–व्यथा अत्यन्त कलात्मक भएका हुनाले यो उपन्यास पढ्ने जोसुकै पाठकले पनि शुरु गरेपछि अन्त्य नगरी छाड्नै सक्दैन । यो उपन्यास उपन्यास क्षेत्रकी एकदमै नयाँ हस्ताक्षरले लेखेजस्तो नभई एउटा परिपक्व हस्ताक्षरले लेखेजस्तो अनुभव हुन्छ । यो मधु शर्माको लेखनक्षमताका कारण यस्तो देखिएको हो भन्ने मैले अनुमान गरेको छु । उनको उपन्यासलेखनको सुरुवात नै अत्यन्त सफल कृतिबाट हुन लागेकामा म अत्यन्त खुसी भएको छु ।
एउटी लेखिकाले लेखेको हुनाले यो उपन्यास नारीको मनस्थिति, मनोविज्ञान र मनोदशालाई यथार्थपरक ढङ्गले अभिव्यक्त गर्न सफल भएको छ । जतिसुकै मनोविज्ञान जान्ने भए पनि, बुझ्ने भए पनि एउटी नारीले जति पुरुषले नारीका विषयमा बुझ्न र लेख्न सक्दैन । मन्जुलाका पीर, व्यथा, पीडा, कष्ट र उसका यावत् कुराहरूलाई लेखिकाले अत्यन्त सहजतापूर्वक व्यक्त गर्न सकेकी छन् ।
हाम्रो समाजको नारीप्रतिको दृष्टिकोणलाई लेखिकाले यसरी प्रस्तुत गरेकी छन्– नारी र “पुरुषबीच धर्ममा समानता छ, कानुनमा समानता छ, क्षमतामा समानता छ । सबै कुरामा समानता हुँदाहुँदै पनि किन हाम्रो समाजमा नारीप्रति हेरिने दृष्टिकोणमा भिन्नता भएको होला ?” वास्तवमा यो यथार्थ हो । कटुसत्य हो । तर यो सत्य पुरुषले भए व्यक्त गर्न सक्ने थिएनन्, किनभने यस्तो भोग्ने नारी नै हुन् । लेखिका नारी भएकैले उनले यसरी यी समस्या उठाउन सकिन् । त्यस्तै नारीप्रतिको दृष्टिकोण र आक्रोशलाई उनले यसरी व्यक्त गरेकी छन्— “एउटै घरमा सातवटी श्रीमती राखेर पालैपालो सबैसँग हप्ताको एक रात बिताउने लोग्नेमान्छेहरू पनि भेटिन्छन् यहाँ । यस कुरामा न त श्रीमतीहरू केही बोल्छन् न त समाजले नै औंलो ठड्याउँछ । तर एउटी स्वास्नीमान्छेले कसैसँग एक रात बिताउनु त परै जाओस्, एक घण्टा एकान्तमा बिताएको थाहा पाउँदा भूकम्प जान्छ त्यस लोग्नेमान्छेका मनमा र एकै क्षणमा टुट्छ उहिलेदेखिको दाम्पत्य सम्बन्ध अनि आफ्नो यथावत् भइरहेको सारा सृष्टि छाडेर पछि लाग्नुपर्ने हुन्छ त्यही लोग्नेमान्छेसँग । अरूको कुरै छाडौं, आफ्नै जन्म दिने बाबुसमेत चाहे आफूले सत्रवटीसँग घाट–घाटको पानी पिएको किन नहोस्, छोराले दोस्री, तेस्री र चौथी बुहारी भियभयाउँदा घिरौंलाभन्दा ठूलो नाक बनाउँछ र आफ्नो सान बढेको सम्झन्छ । तर ऊ आफ्नी छोरीले एउटालाई छाडेर अर्कोसँग विवाह गरी भने आफूसँग सम्बन्ध विच्छेद भएको शङ्खनाद गर्छ, आफ्नो नाक काटिएको ठान्छ ।”
लेखिका हाम्रो समाज एक्काइसौं शताब्दीमा पुगे पनि, जतिसुकै शिक्षित भए पनि संस्कारमा, विचारमा, व्यवहारमा र जीवनमा नआएको परिवर्तन, रूढिवादी सोचसँग हातेमालो गर्ने, एकपक्षीय ढङ्गले, स्वार्थी ढङ्गले सोच्नेहरूको खिल्ली उडाउन तम्सेकी छन् । साँच्चै नै समाजमा रहेको यस्तो सोचलाई परिवर्तन गर्न मधु शर्माजस्तै लेखिकाको खाँचो छ आज । धेरै–धेरै मधु शर्माहरूले नारी र पुरुषबीचको यस्तो असमानताका विपक्षमा कलम चलाए भने पक्कै पनि हाम्रो समाजका पुरुषहरूको सोचमा परिवर्तन आउन सक्ने देखिन्छ । मलाई यस्तै लाग्छ ।
वास्तवमा यस उपन्यासको कथावस्तु जटिल र बृहत् छैन । समाजमा हुने, भइरहेको र देखिइरहेको सामान्य विषयलाई अत्यन्त कुशलतापूर्वक, कलात्मक ढङ्गले, पाठकको मन र मस्तिष्क दुवैलाई रन्थनाउने हिसाबले प्रस्तुत गरिएको हुनाले यो उपन्यास अत्यन्त पठनीय बनेको छ । सललल नदी बगेझैँ प्रवाहमय भएर उपन्यास बगेको छ ।

कतिपय ठाउँमा उपन्यासको मार्मिकताले पाठकको मुटु छुन्छ । जस्तो— “जीवन भनेको एउटा तीन घण्टामा सकिने चलचित्रजस्तो होइन रहेछ, न त निदाएका बेलामा देखिने सपना नै रहेछ । आफूले एउटा कुरा सोच्यो तर यथार्थ त्योभन्दा फरक हुने रहेछ । मान्छेलाई समयको हुरीले हुत्याउँदै एकै पटक फूलैफूलको बगैंचाबाट उजाड मरुभूमिमा पुर्याउन कति बेर लाग्दो रहेछ र !”
यो उपन्यास लेखिकाको पहिलो उपन्यास भए पनि परिपक्व, पठनीय र सफल हुने उपन्यासको कोटिमा राख्न चाहन्छु म । नेपाली उपन्यास प्रकाशनको शतवार्षिकीको केही समय पश्चात् प्रकाशनका ढोकाबाट निस्कन लागेको यस उपन्यासले नेपाली उपन्याजगत्मा छुट्टै महत्त्व र प्रतिष्ठा पाओस् भन्दै लेखिका मधु शर्माको उपन्यास लेखनयात्राको यो सुखद थालनीका लागि बधाई, शुभकामना र शुभाशिष दिन चाहन्छु ।

डायमनशमशेर राणा
२०६६ असार १०