Product Description
प्रश्नहरूको नाट्यायन
अशोक थापा
चारकुने नागरिकता र जग्गाविहीन लालपुर्जा हातमा लिएर आफ्नै भूगोलमा शरणार्थी बत्रुपर्दाको दृश्य साँच्चै विरूप र कारुणिक हुँदोरहेछ । आखिर के लाग्छ ? पहुँचको चाबीले अवसरको ताला खोल्ने परम्परा बसेको यो देशमा निमुखा र निरूपाय बत्रुको दोस्रो विकल्प छैन दशकौँदेखि । अवाक् बनेर जवाफहरू कुण्ठित छन् अनेक खेलहरूमा, प्रयोगशालाहरूमा, साँच्चै मान्छे हराएका छन् सुरक्षाको भीडहरूमा । कसको हो यो अमूर्त खेल, मजबुत सम्बन्धहरूमा फाटो ल्याउने अदृश्य कालो आकृतिसहितको ? भावनाको सुन्दर मैदानमा जातीयताको खोटो फुटबल खेलाउने धातक रेफ्रीलाई कसले खबरदारी गर्ने ? र, आन्तरिक शरणार्थी बनेर अवसरको मृगतृष्णा बाँचेका जनताका सामूहिक प्रश्नको जवाफ कसले दिने हो, यो देश हराएको देशभित्र ? समाज र आफन्तसँगै बस्न नदिने यो कस्तो खेल हो राजनीतिको ? गरिखाने हातहरूमा लाठी र बुटको झापड हात्रे कस्तो कठघरा हो मत्स्यन्यायसहितको ? आफ्नो दुःखजेलो गरेर खाने सोझोसादा मासुम अनुहारमा सुराकीको विरूपाक्ष चित्र देख्ने यो कस्तो नीतिहरूको नीति हो राजनीतिको ?
जनता हराएका छन् आफ्नै समाजमा । लुटिएका छन् आफन्तबाटै । अपहरण र बेपत्ता बनेका छन् छिमेकीबाटै । पालैपालो कम्ब्याट ड्रेसबाट थिचिएका छन् जनता अनेक बहानामा । कहिले सुराकी बत्रुपरेको छ सोझा जनता, कहिले आतङ्ककारीको रूपमा बुटको गोदाइ, कहिले छोटे डनको हप्ता उठानबाट उतर्सिनुपरेको छ । कसको जिम्मेवारी हो यो ? राज्य कहाँ छ यहाँ ? राज्य किन हराएको हो ? कसले हराउन बाध्य पारेको हो ? सुन्दर फूलबारीजस्तो देश टुक्राटुक्रा पर्ने जातीयताको सोडा हाल्ने यहीँ छन् कि सीमाबाहिर ? यो जाली पासा र खेल कहिलेसम्म ? यस्तैयस्तै प्रश्नहरूको बुनोट लिएर आएका छन् पुरु रङ्गमञ्चमा । यो प्रश्नहरूको नाटकीकरण हो, नाट्यायन हो । यहाँ उत्तरहरू विलुप्त छन्, जसरी जनताका आशाका दीयोहरू खग्रासिएका छन् । यस्तैयस्तै विक्षिप्त कथ्य बोकेर जन्मेको छ पुरु लम्सालको देश हराएका मान्छेहरू नाटक, प्रश्नहरूको नाट्यायनसहित ।
जनता अचानिएको युगौँदेखि हो । जनता सडकमा लट्पटिएको उहिल्यै हो, धुलिएर सडकै भइसके उनीहरू । पीडाको लालपुर्जामा रोदनको क्षेत्रफल बिछ्याएर सडकमा दिन कटाउने जनताको कथा हो यो । मान्छेको जात मान्छे नै हो तर टुक्र्याएर हिमाल, चिरा पारेर तराई र भत्काएर गर्ल्याम्म पहाड जाति–जनजाति अनि पक्षपाती कौडा खेलाउने यो खेलको जटिल जाली अभिनयको अभिलेख हो यो नाटक । समसामयिक कोलाहल पक्रिएर नाटकको रूपमा भरेका छन् पुरुले टेपरिकर्डले जस्तै । शान्तिप्रियाको गायत्री–मन्त्र जप्न थालेको पनि एक दशक नाघ्यो । विस्थापितको दिन फिर्यो भत्रे समाचार पनि भन्छन् सञ्चारमाध्यम र थप्छन् घरजग्गा फिर्ता हुने भो भनेर तर घरजग्गा नै नहुने मजदुरको पुराण कहिले सुरु हुने हो ?
रामपुकार :
हो नि काका । देशमा शान्ति आयो त भन्छन्, तर कहाँ आयो ? कसलाई आयो ? थाहा छैन । हिजो उनीहरूकै कारण घर छाडेर हिँड्नुपर्यो । आज समय बदलियो । आ–आफ्नो घर जान पाइन्छ भन्ने सोचेको त ! कहाँ ल ! अहिले त झन् कतै चक्काजाम, कतै हडताल, कतै बन्द, उस्तै छ । हामीजस्ता ज्याला–मज्दुरी गरी खानेलाई हिजो के ! आज के ! (पृ.१९)
राजनीति केका लागि हो ? नातावादको घातक विष पिएर सर्वहारावर्ग कहिलेसम्म मरिरहनुपर्ने हो ? शान्तिको सास फेरेर गाउँमा कुटीखेलो गर्न पनि नपाउने यो कस्तो नियति हो ? जटिलताको सास फेरेर शहरमा बाँचेका जनताले पानीमात्रै पिएर पनि गाउँमा बस्ने वातवरण कहिले बन्छ ? यो नाटककारको अर्को प्रश्न हो ।
नन्दलाल :
हाम्रा लागि के गर्थे र ! गरे पनि उनीहरूकै आसेपासेका लागि गर्छन् । हाम्रो लुटिएको घरजग्गा फिर्ता गराइदेऊ भन्दा त गर्दैनन् । मलाई त यो शहरमा बस्न वाक्कै लागिसक्यो । बरु गाउँमै भए पानीमात्रै खाएर पनि बाँचिन्थ्यो । के गर्नु गाउँमा जान पनि….! (पृ.२०)
छोराछोरी जनयुद्धमा गुमाएकी हजारौँ अम्बिका र नन्दलालहरूको सङ्कथन हो यो । सोझो कारिन्दाबन्दा सुराकीको साँपले डसेको सयौँ रामपुकारहरूको कहानी हो यो । जनयुद्ध र जनआन्दोलनमा सन्तान सखाप भएपछि बौलाएकी सहिदकी आमाको वृत्तान्त हो यो । आफ्नी ममताकी खानी छोरी बलात्कार भएपछिको चित्कारको आवाज र छोरा अमर सहिद भएपछिको असन्तुलित मानसिकताको प्रस्तुतीकरण हो यो नाटक । युद्धमा होमिएका हजारौँ अम्बिकाहरूको क्रन्दनको म्यापिङ हो यो नाटक । पुलिस ज्यादति र वृद्धकालमा विस्थापित हुनुपर्दाको रुवाइ हो यो नाटक । यो नाटकमा जे कुरा अनुबन्ध छ, जुन हिजोमात्र सडक, चोक, गल्ली र रत्नपार्कका कुनाहरूमा घटेका घटनाहरू हुन् अत्यन्त साजी । ताजा र कत्ति पनि बासी नबनेका जीवन्त कथानकको डिस्कोर्स बनाउन सफल भएकामा पुरुलाई धन्यवाद नदिँदा अन्याय हुन्छ । पुरु असन्तुष्ट हुनु स्वाभाविक हो । किनभने, उनको असन्तुष्टिमा सामूहिक गुञ्जन अटेको छ, जो चोकचोक, गल्लीगल्ली, खाडी, मलेसिया, कोरिया, क्यानडा, अष्ट्रेलिया अनि धेरैधेरै भूगोलका चेपहरूमा ।
राज्यभित्र आन्तरिक उपनिवेशमा परेका सबै क्षेत्र हिमाल, पहाड र तराईलाई एउटै मञ्चमा उभ्याएका छन् पुरुले । सोझो समेलो गरेर बस्ने मान्छेहरू आज मगन्ते बत्रुपरेको छ । मागेर गुजारा गर्ने रहर कसको पो हुन्छ होला र ? आफू मागेर खानुपर्ने, मागेरै परिवार चलाउनुपर्ने र श्रीमती र परिवारको औषधोपचार र रेखदेख पनि गर्नुपर्ने यो कस्तो कारुणिक क्रन्दन हो ? यसको विमर्श गरेका छन् पुरुले यस नाटकमा ।
माग्ने :
हजुर ! दुई–चार रुप्पेँ दिनूस् न ! दुई दिन भयो केही खाएको छैन हजुर ! घरमा श्रीमती पनि बिरामी छे । दया गर्नूस् हजुर यो दुःखीलाई ! (पृ.१७)
सहिदकी आमा आज बौलाएकी छिन् । सम्पत्ति नभएको होइन उनको । छोराछोरी, श्रीमान् अनि सुन्दर परिवारमा विखण्डन सिर्जना हुन्छ, जब श्रीमान्को सुराकीका नाउँमा हत्या हुन्छ । छोरीको पनि बलात्कारपछि विभत्स हत्या हुन्छ र एउटा भएको छोरो पनि दोस्रो जनआन्दोलनमा सहादत भएपछि कुनचाहिँ आमाको मन विक्षिप्त बन्दैन होला र ? उक्त संवेदनशील पक्षलाई आख्यानीकरण गरेका छन् पुरुले ।
नन्दलाल :
गाउँमा सम्पत्ति प्रशस्तै थियो । लोग्नेलाई सुराकीको आरोपमा मारे । छोरीको पनि बलात्कारपछि हत्या भयो । बाँचेको एउटा छोरोलाई लिएर यता शहरतिर आई । यतै फुटपाथतिरै सानोतिनो व्यापार गरेर बसेकी थिई । ०६२-०६३ को जनआन्दोलनको समय थियो त्यो । चोक, गल्ली सबैतिरबाट जुलुस निस्कन थाले । अमर थियो क्यार त्यसको छोराको नाम, ऊ पनि मिसियो जुलुसमा । ऊ कराउँदै थिई, गाली गर्दै थिई, ऊ पटक्कै नटेरी हिँड्यो झन्डा बोकेर…. । (पृ.२४)
……..
छोरालाई अँगालो हाल्छिन् र विलाप गर्न थाल्छिन् ।
मेरो बाबु….! मलाई एक्लै छाडेर नजा न….!
ए छोरा ! उठ् न । अमर ! उठ् न छोरा, लौ न कोही छ ? लौ न बचाओ मेरो छोरोलाई ! (यताउता कुद्छिन्) लौ न हजुर ! मेरो छोरालाई गोली लाग्यो, बचाउनूस् न ! लौ न पानी दिनूस् मेरो छोरोलाई ! (पृ.२७)
देशमा पाखण्डी, दलाली र घुसखोरीतन्त्रको राज छ । जहाँ बदमासहरूको राज हुन्छ, त्यहाँ सज्जनहरू अपमानित भएर बाँच्नुपर्ने हुन्छ । कालाबजारीहरू शिर ठाडो पारेर हिँड्छन् र बौद्धिक समुदाय शिर निहुराएर भने त्यो राज्यमा कहिल्यै उत्रति हुँदैन । नयाँ नेपाल कुन चराको नाउँ हो ? लोकतन्त्र र छाडातन्त्रमा के फरक छ ? आदि जिज्ञासामा पनि नाटककार पुरु तल्लीन भएका छन् ।
नन्दलाल :
जानीजानी कर छलेर बेच्न पाएन भनेर पनि बन्द अरे ! जसलाई जे गर्न पनि छुट छ । यस्तै रहेछ नयाँ नेपाल भन्या पनि, लोकतन्त्र भन्या पनि । (पृ.२२)
पुरु नाट्यशिल्पी बन्दै गएका छन् । उनमा गज्जबको निर्देशकीय चेत र मञ्चसज्जाको सीप विकास भएको सहजै अनुभूत गर्न सकिन्छ, उनको नाटक पठनपछि । उनका संवादमा प्राकृतिकपन छ । जनयुद्धको झल्को, मधेस आन्दोलनको रूप, नेपाल बन्दको चित्र र दोस्रो जनआन्दोलनको वास्तविक झल्को मञ्चमा उतार्ने चुनौती भने पुरुले सामना गर्नुपर्नेछ । पात्रमा कम्तिमा तीन प्रकारको लवजसहितको संवाद बोल्ने कलाकारको पनि जोहो गर्नुपर्नेछ । पुरुले आजको समकालीन समाजको रूप त दुरुस्त उतारेका छन् नाटकमा, तर समस्याको भण्डाफोरले मात्र नाटकको प्रयोजन सकिँदैन । त्यसपछि पनि पुरुको नाटकीय कार्यदिशा कता हो ? त्यो प्रस्ट पारेको खण्डमा समकालीन नेपाली नाटक साहित्यको मैदानमा पुरु दरिलो खम्बा बनेर उभिने कुरामा कुनै शङ्का छैन । रङ्ग, शिल्पगत चेतना र निर्देशकीय परिपक्वपन उनका सबल पक्षहरू हुन् । पुरुको नाटकीय क्षेत्रमा सफल अवतरणका लागि धेरैधेरै शुभकामना ।
उपप्राध्यापक, नेपाली केन्द्रीय विभाग,
त्रिवि, कीर्तिपुर