Arko Oralo

Arko Oralo

Arko Oralo

 150.00

२०३९ मा हलेदेकालिका-९, नुवाकोटमा जन्मिएर राजधानीमा क्रियाशील लम्साल मूलतः रङ्गकर्मी हुन् । डेढ दशकदेखि रङ्गमञ्चमा सक्रिय उनी गजल, कविता र आख्यानमा पनि कलम चलाउँछन् । लेखन, निर्देशन र अभिनयमा उत्तिकै दक्खल राख्ने लम्साल पछिल्लो समय कविता मञ्चनमा समेत सक्रिय छन् । सीमान्तकृत सामाजिक विषयवस्तु र यथार्थ परक लेखन नै यिनको विशेषता हो ।

SKU: j20 Category: Tags: , Product ID: 2464

Product Description

के लेख्नु के?

अनि उनी रिसाए। बाउसँग छोरो रिसाएजस्तो, दाइसँग भाइ रिसाएजस्तो, माइतीसँग चेली रिसाएजस्तो। गाली गरे कि गरेनन् कुन्नि, चित्तचैँ मज्जाले दुखाए। खै कताबाट हो, पुरु लम्साल भन्ने प्राणी सुटुक्क जीवनमा आइपुगे र मेरो दैनन्दिनीको एक हिस्सा बने। अलिकति म उनीसँग रत्तिएँ, अलिकति उनी मसँग रत्तिए। पछिल्ला तीन महिना लगातार शब्दघरको दैलोमा हाजिरी बजाइसक्दा पनि यो पुस्तकको कम्प्युटर कपीलाई मैले आद्योपान्त छिचोल्न सकिनँ, भ्याइनँ। यसै पुस्तकबाट एउटा नाटक मञ्चन गर्ने र उद्घाटन यही किताब सार्वजनिक गरेर गर्ने उनको भित्री योजना मैले कण्ठस्त हुनेगरी सुनेको थिएँ, थाहै नपाएजस्तो गरिरहेँ। भने, ‘मलाई हत्तपत्त चित्त दुख्दैन, दुःखेपछि बिसेक हुँदैन।’ अनि सारा कार्यक्रम रद्द गरे, पालिरहेको लामो कपाल फाले, नपालेको दारी पाले। काठमाण्डूलाई तीन चक्कर लगाइसकेर आठ दिन, सात रातपछि यसरी आफैँ सम्झौता गरे, ‘म रिसाएर दाजुलाई छुँदैन भन्ने मलाई राम्रोसँग थाहा छ ।’
मलाई पनि थाहा छ, उनी छुच्चा छन्। विशेषगरी जो पायो त्यहीलाई लेखक मान्न ठाडो इन्कार गर्ने उनको बानी धेरैले मन पराउँदैनन्। त्यसो गरेको भनेको मान्छेलाई मान्छे नगनेको हो। मान्छेलाई मान्छे नगन्ने मान्छेलाई मान्छेहरू मन पराउँदैनन्। यो एक प्रकारको घमण्डी व्यवहार हो। तर, उनको यो घमण्डको रङ अलिक बेग्लै छ। अक्सर उनी बाउको र राम्रा लेखकको मुग्ध कण्ठले प्रशंसा गर्छन्। राम्रो लागेको पुस्तक आठ–दस चोटिसम्म दोहोर्याधएर पढ्छन्। त्यसैले सायद, लाखारलुखुर लेख्नेहरूलाई उनी गन्दै गन्दैनन्। हैन, हैन, आफ्नो रचनाको दम्भ पटक्कै मिसिएको हुँदैन त्यसमा। आफ्नो प्रशस्ति गाएको मैले कहिल्यै सुनेको छैन उनको मुखबाट। उनी आफूलाई मन परेको मान्छेको रचनासँग पढ्दै गरेको रचना दाँज्छन् र यथोचित स्तर पाइएन भने ओठ लेप्य्राउँछन्।
उनले नाटकमा र पछिल्लो समयमा गजलमा समेत धेरथोर विज्ञता हासिल गरेका छन्। हिजो उनका रचना कस्ता थिए? त्यतातिर जानु नै बेकार छ। किनकि उनी स्वयम्ले हिजोका आफ्ना सिर्जनालाई ‘आभ्यासिक प्रयास’ प्रमाणित गरिदिएका छन्, आज स्तरीय र परिपक्व लेखन गरेर। तर, त्यही सिक्ने क्रमलाई पनि उनले सकभर परिपक्वता दिने प्रयत्न गरेकै देखिन्छन्। स्तर भएका स्रष्टा चिन्न सक्ने खूबीसँगै, तिनीहरूसँग निकट हुने र पाठककहाँ पुग्नुअगावै तिनको बौद्धिक दृष्टि आफ्ना रचनाहरूतिर पार्न उनी सिपालु छन्। जुन बानीले उनलाई परिपक्व लेखनतर्फ एकदमै दू्रत गतिमा लगिरहेको महसुस जोकसैले गर्न सक्छ। यही दौरानमा कुनै दिन पुरु लम्साल भन्ने मान्छे तपाईंको अगाडि उभिए र उनको रचनामा तपाईंबाट प्रतिक्रिया वा परिष्कारको अपेक्षा गरे भने बुझ्नूस्, उनले तपाईंलाई एउटा राम्रो स्रष्टा मानेका छन्। किनकि, पुरु लम्साल जोकसैलाई मान्छे गन्ने मान्छे नै होइनन्।
गायक, सङ्गीतकार थानेश्वर गौतमले भने, ‘बाबु त्रिपाठी भन्ने मान्छेलाई मैले चिनेको छैन, पढेको पनि छैन। पुरुले गरेको प्रशंसा सुन्दासुन्दा मलाई त्रिपाठी असाध्यै राम्रा गजलकार हुन् भन्ने छाप परेको छ। यस्ता थुप्रै मान्छेको यिनी चर्चा गरिरहेका हुन्छन् । मैले सङ्गत गरेका सबै गीतकार, साहित्यकारहरू अगाडि त ठिक्क पार्छन्, तर पछाडि कसैले कसैलाई राम्रो भनेको सुनेको छैन । मलाई पुरु उल्टोखालका लाग्छन् ।’
बाबु त्रिपाठी अर्कै, पुरु लम्साल अर्कै। यी दुवैको आनी, बानी, स्वभाव, रहनसहन, खानपिन कतै, केही मिल्दैन। यी दुईको राजनीतिक आस्थाको धरातल पनि एकअर्काको ठ्याक्कै विपरीत छ। बाबु त्रिपाठीसँगैको र बाबु त्रिपाठीविनाको दुवैखाले यात्रामा म उनीसँग हिँडेको छु। चारकोसे झाडीको राजमार्गमा १२५ प्रतिघन्टाको गतिमा बाइकमा हुइँकिएको बेला उनी खुसुक्क भन्छन्, ‘दाजु, बाबु त्रिपाठी मेरो ठाउँमा भइदिएको भए कतिचोटी टिप्दै, हाल्दै गर्नुपर्ने हुन्थ्यो होला हगि।’ सिक्किमको डरलाग्दो भीरको बाटोमा एकातिरको चक्का खस्लाजस्तो गरी दौडिरहेको गाडीमा च्यापिँदै उनी भन्छन्, ‘बाबु त्रिपाठी भए यतिबेलासम्म हर्टएट्याक भइसक्थ्यो ।’ छङ्गु लेकको हिउँमा चिप्लेटी खेल्दैगर्दा उनी भन्छन्, ‘बाबु त्रिपाठीलाई यहाँ ल्याउन पाएको भए कत्ति रमाउँथ्यो होला ।’
थानेश्वरले भनेजस्तो यिनको स्वभाव मलाई पनि अनौठै लाग्छ। कसैसँग अपर्झट भेट हुँदा भन्छन्, ‘मैले टेलिभिजनमा काम गर्ने साथी भनेको थिएँ नि, उतै नुवाकोटको, यिनै हुन्।’ चिन्दै चचिनेको, बिल्कुलै गैरसाहित्यिक आफन्तसामु उभिएको बेला सोध्छन्, ‘उहाँलाई चिन्यौ? कवि प्रोल्लास सिन्धुलीय, मैले अस्ति नै कुरा गरेको थिएँ नि।’ आफूले सङ्गत गरिरहेको मान्छेको बारेमा साथीभाइ, आफन्तबीचमा चर्चा गर्न उनले कत्ति छिटो भ्याइसक्छन् ।
पुरुको किताबमा उनी र मबीचको सम्बन्धबारे व्याख्या–विश्लेषण गरिरहनु एकप्रकारको बौद्धिक दरिद्रता हो भन्ने जान्दाजान्दै उनीसँग जोडिएको एउटा घटना यहाँ थोपर्नु बुद्धिमानी सम्भि्कएँ । हामी मेरो पछिल्लो कवितासङ्ग्रहको विमोचनको तयारीमा थियौँ। एउटा सामान्य औपचारिक कार्यक्रमको तयारी थियो त्यो। ‘राजेश हमाललाई प्रमुख अतिथि बनाउनुपर्छ’ उनले प्वाक्क मुख फोरे। हामी उनीतिर हेरेर हाँस्यो, खिसिट्युरीको भावमा। उनले तुरुन्तै कुन्नि कसलाई फोन लगाए, र भने ‘लौ कुरा मिल्लाजस्तो छ।’ भोलिपल्ट उनैले खबर गरे, ‘काठमाडौँबाहिर नगइनहुने भएछ उहाँलाई।’ सँगसँगै अर्को प्रस्ताव ल्याए, ‘सङ्ग्रहको एउटा कविता मञ्चन गरौँ, म लूनिभा तुलाधर (कान्तिपुर टेलिभिजनकी पहिलो पवनकली) सँग कुरा गर्छु।’ हामी फेरि उसैगरी हाँस्यौँ।
त्यसको चार दिनपछि जब लूनिभा शब्दघरमा टुप्लुक्क आइपुगिन्, हामी हेरेको हेर्यैञ भयौँ। पुरुको निर्देशनमा लूनिभा र पुरु स्वयम्ले अभियन गरेको ‘हायुनी बूढी’ कविताको मञ्चन हेरेर आँखा रसिलो नपार्ने कोही भएनन् कार्यक्रममा। विमोचनमा आउन नपाए पनि त्यो किताब आफ्नै हातले राजेश हमाललाई दिने अवसर पछि पुरुले नै जुटाइदिए।
ख्यालख्यालमा बौद्धिक कार्य गर्ने उनको बानी सुरुसुरुमा सङ्गत गर्ने जोकोहीलाई हावादारी लाग्छ, मलाई पनि लाग्थ्यो।
पुरु लम्सालसँगको मान्छेहरूको सम्बन्धको आधार यस्तैयस्तै हुन्छ। यिनी मूलतः कलाकार हुन्, तर रिस उठेको बेला नउठेको जस्तो, चित्त दुःखेको बेला नदुखेको जस्तो, खुसी लागेको बेला खुसी नलागेको जस्तो अभिनय गर्न यिनलाई पटक्कै आउँदैन। अलिकति सङ्गत गरेपछि उनका गुण, अवगुण सबै देख्छन् मान्छेले। हामी भएभरको बल, बुद्धि लगाएर आफ्नो कमजोरी छोप्ने प्रयत्न गरिरहेका हुन्छौँ, उनी आफ्नै मुखले बकपत्र गरिदिन्छन्, ‘म जहिले पनि यस्तै हुँ।’ मानौँ, यसो भनिरहेका हुन्, मलाई स्विकार्ने हो भने मेरा कमजोरीसहित स्वीकार गर।
एउटा खुला किताब पढिरहेजस्तो लाग्छ उनीसँगको सङ्गत । किताब खुला हुँदैमा त्यसभित्रका सबै कुरा बुझिन्छ नै भन्ने हुँदैन ।
मैले अझैसम्म उनलाई बुझ्न सकेको छैन। केही छैन भन्दाभन्दै उनी केही गरिरहेका हुन्छन्, केही गर्दै छन् भन्ठान्यो केही गरिरहेकै हुँदैनन् । उनको हिजो कस्तो थियो, भोलि कस्तो हुनेछ त्यसको अन्दाज लगाउन मुस्किल छँदै छ, उनी आज के गरिरहेका छन्, जो पायो त्यसलाई त्यो खुट्ट्याउन पनि मुस्किल हुन्छ। पुरु लम्सालले सबैभन्दा धेरै गर्ने कार्य भनेको बौद्धिक खुराफात हो । जसलाई अचेल सिर्जनशील अराजकता भनिन्छ क्यार ।
उनी यस्तै छन्। यस्तो मान्छे राम्रो मान्छे हो कि होइन, म जान्दिनँ।
‘दाइले लेख्नुभएन, अब कसैको भूमिका पनि राख्दिनँ, यत्तिकै छापिदिनूस्,’ अँध्यारो अनुहारसहितको पुरु लम्सालको यो गुनासो सुनेको साँझ श्रीमतीले आक्रोश पोखिन्, ‘तपाईं पनि वास्तै गर्नुनपर्ने मान्छेको पछि लागेर समय नष्ट गर्नुहुन्छ, नगरी नहुने कामको लागिचाहिँ समय नै दिनुहुन्न। कसरी चल्छ यस्तो तालले?’
हो त नि। यो जिन्दगी न पुरु लम्सालको तालले चल्छ, न मेरो तालले नै। लेखक भयौँ भन्दैमा दुनियाँका लागि झन्झन् अप्ठेरो किन बनिदिन्छौँ हामी? यो समाजले चाहेजस्तो ‘उही आज्ञाकारी छात्र’ टाइपको जिन्दगी बाँच्नुमा हामीलाई किन पटक्कै रुचि छैन? अरूजस्तै बन्नका लागि हामी जन्मिएका होइनौँ भन्ने भ्रम पुरुसँग पनि छ, मसँग पनि छ, बाबु त्रिपाठीको त झन् कुरै नगरौँ। कहिलेकाहीँ त्यसको शिकार हामी आफैँ पनि बन्दारहेछौँ, जस्तो कि यसपटक पुरु बनेका थिए।
ओहो, पुरुको गुनासो सुनेर श्रीमती उफ्रिएको पनि दुई महिना बितिसकेछ। पुरुले फेरि नाटक मञ्चनको तयारी गरिसकेछन् । फेरि विमोचनको तारिख तोकिसकिएछ। किताब आउँदै छ भन्ने हल्ला फेरि चल्न थालेछ फेसबुकको भित्तामा ।
त्यही नाटकको तयारीका लागि उनलाई पोखरा र काठमाडौँ धाउँदैमा ठिक्क रहेछ, कताबाट मेरो पुच्छर निमोठ्ने फुर्सद पाउनु ?
उनी चुपचाप, म पनि चुपचाप। नाटक हेर्न पोखरा आउने निम्तो दिएर पुरु हिँडेपछि भने मलाई भाउन्न भयो । सोचेँ, त्यति धेरै अव्यावहारिक मान्छे त म पनि होइन। अनि हतारहतार यो वृत्तान्त लेखेर श्रीमतीलाई सुनाएँ। प्रश्न गरिन्, ‘तपाईंले पुरुको नाटककै लागि यो भूमिका लेख्नुभएको हो त ?’
म मुस्कुराएँ। उनले कुरो बुझिनछन् । अहँ पटक्कै बुझिनछन् ।
यौटा कविले कसैको नाटकको बारेमा के लेख्नु ?
जाने पो लेख्नु !

– प्रोल्लास सिन्धुलीय