Product Description
सुनगाभालाई सम्बोधन
‘माया उर्गेनको घोडा चढेर
त्यो घुमाउरो बाटो
फनक्क घुमेपछि
भेटाउनेछौ
मेरो आदिम बस्ती
प्रिय सुनगाभा,
तिमीले ठिकै भन्यौ । यही शहरको केही पर्तिर, केही घुमाउरो बाटाहरु हिँडेपछि, भेटिने छ तिम्रो–हाम्रो, त्यही आदिम बस्ती, जहाँ सदियौंदेखि फूल्न चाहेको सपनाहरु सकसको सिकुवामा त्यसै त्यसै सिउरिएका छन् । समयको जस्केलाबाट थुप्रैपटक सपनाले व्युँझिने कोसिस गर्यो, तर काटिए पखेटा सपनाका । पड्किए बन्दुक त्रासका र हामी सिर्फ बन्यौं मोहरी । हाम्रा सपनाका भर्याङ चढेर, थुप्रैले चुमे सगरमाथा । तर, यो आदिम बस्तीको ‘रातो घर’भित्र सपना उस्तैगरि निदाइरह्यो– निरन्तर ।
के तिमी सपना ब्युँझाउन ‘रातो घर’को ढोका ढक्ढकाइरहेकी छ्यौ ?
यदी हो भने आऊ– आदिम बस्तीका केही ताजा एजेण्डाहरुमा डिस्कोर्स गरौं । सबैभन्दा पहिले म तिमीलाई भन्न चाहन्छु– तिमी शहरको ‘प्वाइन्ट अफ भ्यु’बाट गाउँलाई हेरिरहेकी छ्यौ । जस्तो कि, पराई घर पुगेकी चेली, जो परिस्थितिको चंगुल चुँडेर माइती गाउँ फर्किन सक्दिन, र उसले सिर्फ पठाइरहेछ कसैलाई हुलाकी सन्देश–
‘आमा ! हाम्रो त्यो रातोघरबाट,
अझै थुप्रै म जस्ता
सन्तानहरु तयार पारेर
पठाउ यहाँ,
मेरो युग पर्खिरहेछ ।’
सुनगाभा ! यहीँनेर स्पष्ट पार्न चाहन्छु– त्यो पर्खाई तिम्रो हाम्रो युगले मात्रै हैन, आमाको सिंगो युगले पनि त गरेको थियो । एउटा लामो र उच्चाटलाग्दो कालखण्डमा आमाले ‘युग अब कोल्टे फेर्ला कि’ भन्ने सपना हुर्काइन् । कोही आए– सपनालाई अँगालो हाले । निन्द्रामा या तन्द्रामा, सुम्सुम्याए झैं गरे । तर युग आएन । आज त्यही युग तिमी–हामी शहरमा बसेर पर्खिबसेका छौं ।
हुन त सबथोक शहरमै छन् अचेल । थकित पुर्व विद्रोही, संविधान बनाउन नसकेका लाचार सभासद, गाउँ फर्किन नसकेका नेता, ठेकेदार, गाविस सचिव, कवि, मुम्बईको कोठीबाट फर्किएकी चेली अनि लोपुन्मुख राउटे समुदायका डेलिगेशन टिम । यस्तोमा एउटा कविले गाउँलाई शहरको ‘प्वाइन्ट अफ भ्यु’बाट हेर्नु के अनौठो ?
शक्ति भनेको यस्तै रहेछ सुनगाभा !
सामान्यतयः शक्तिले नै मान्छेको मनोविज्ञानमा आफू अनुकुलको ज्ञान र दृष्टिकोण भरिदिने हो । अहिले शहर शक्ती बनेको छ । योसँग सत्ता छ, बहुराष्ट्रिय कम्पनीको इन्द्रेणी बजार छ । यही बजारले लादिदिएको दृष्टिकोणबाट आज हामी आफ्नो गाउँलाई हेरिरहेका छौं । हामीले छाडि आएका गाउँका ‘राता घर’हरु भने निरीह ठिङ्ग सिक्रो रुख उभिरहेझैं लाग्छ– कतै निर्जन र सुख्खा बन्दरगाहछेउ ।
नढाँटि भन्छु– अचेल म एकदमै सिजोफ्रेनिक बन्दै गएको छु । आफैलाई बिर्सेजस्तो । आफैले भोगिरहेको समय नै कतै कोल्याप्स भएजस्तो । हुनसक्छ सायद यो– सर्ट टर्म मेमोरी लस्ट । जस्तो कि तिमीले पनि आफ्नो हिजोको धरातल बिर्सेकी छ्यौ र आजको शहरबाट तिमी आमा पुकारीरहेकी छ्यौ, ‘रातो घर’ पुर्ननिर्माणका लागि । मेरो बिचारमा यो पनि एउटा सिजोफ्रेनिक समस्या हो । आजका तेस्रो विश्वका आम मानिस जो आफ्नो पुरानो, मौलिक र अग्र्यानिक ‘रातोघरीय’ छवि बिर्सिन अभिसप्त छन । अथवा भनुँ– समयले हामीलाई त्यस्तै विश्वव्यापी सा“चोमा ढालिदिएको छ । र, हामी अरुकै निर्देशनमा नाचिरहेका छौं ।
हो– यो विश्वव्यापी शहरमा निरन्तर हामी नाचिरहेका छौं आफैलाई भुलेर । आफ्नोपन र स्वत्व गुमाएर ।
कहिलेकाँही विहान टाढा कतैबाट कुक्कुको आवाज कानसम्म आइपुग्दा ओछ्यानबाट जुरुक्क उठेर कुक्कुलाई पछ्याउँदै गाउँ जान मनलाग्छ मलाई– कान्ला कान्ला फाल हान्दै । हठात, मनमा विरोधाभास उभिन्छ ठिङ्ग– अहो ! कतै म बौलाएँ पो की ? आफै छामि हेर्छु । होस खुले झैं हुन्छ । फेरि उही शहरको मन्द–मन्द विशालु व्यस्ततामा अल्झिन्छु र आफैलाई विर्सन्छु । थाहा छैन– शहरले मलाई मेशिनमा रुपान्तिरित गराइरहेको छ या मलाई ‘सिजोफ्रेनिया’ भएको छ । यस्तोमा आफूले छाडिआएको ‘रातो घर’लाई तिमीले शहरको आँखाबाट हेर्नुमा मेरो केही गुनासो छैन ।
तिमीलाई थाहै छ– अचेल गाउँ पनि डिजिटल बनेको छ । गाउँका सपनाहरु पनि अब क्याल्कुलेटरमा छिटो छिटो दौडिने डिजिटहरु जस्तै चलायमान र तीब्र बनेर क्षणभरमै विलुप्त हुने इन्द्रेणी चरित्रका बनेका छन् । गाउँ अब आफ्नै सपना देख्न सक्दैन । कसैले बनाइदिएको उत्पादनको रेडिमेड र हाइब्रिड सपना देख्छ अब गाउँ । तिमीले लेखेकै छ्यौ नि ‘मार्फाको रायो’ कवितामा–
अर्कोबर्ष
फलेन धान
उम्रेन गहुँ
झुण्डिएन मकैका झुत्ता
रोए सिताराम, गंगाराम
रोए पासाङ, लोब्साङ…
भोलिपल्ट गम्भिरेको घर अगाडी
पंक्तीबद्ध थिए…
हाईब्रिड विउ
खरिद गर्न
हो, यसरी नै बेचिरहेछ बजारले गाउँलाई हाइब्रिड सपना । ग्लोबल क्यापिटालिज्मको चरम चंगुलमा फसेको छ अचेल हाम्रो आदिम बस्ती । तिमी पनि त शहरमा छ्यौ र शहरबाटै संझना गरि पठाएकी छ्यौ– कुनैसमय तिमी खेल्ने राप्तीको बगर अनि काँसघारीमा अल्झेको तिम्रो बुट्टे जामाको संझना ।
प्राकृत बोनबादको साक्षी आखे–म्हेम्हेको त्यो ढ्याङग्रोमा लागेको माकुराको जालो अब कसले पुछ्ने ?
के यो ढ्याङग्रोसँगै हाम्रो बोन तान्त्रिजमभित्र लुकेको अथाह पुख्यौली ज्ञानको विनाशप्रति तिम्रा छोरा–छोरी पुस्ताले आँशु बगाउला ? तिमीले त कम्तीमा कविता लेख्यौ । धुँवाको नित्य–नागबेली पीडामा गुजुल्टिएकी आमालाई जक्स्ट्रापोजिशनको रुपमा उभ्याएर कोलम्वियाली गायिका, मोडल तथा कलाकार साकिराप्रति व्यंग्य कस्यौ । अबका दिनहरुमा तिम्रा नाति–नातिनाले तिम्रो यो शक्तिशाली कविता ‘धुवाँ र आमा’की ‘आमा’ पात्रलाई बढि मन पराउलान कि साकिराको ‘वाका वाका इए इए…’ लाई ?
मलाई लाग्छ– हामी यहींनेर गम्भीर हुनुपर्छ ।
हो, तिम्रो हाम्रो ‘रातो घर’ रहेको आदिम बस्ती पनि अरु विश्वजस्तै चलायमान हुनुपर्छ– परिवर्तनशील हुनुपर्छ । सायद ‘विकास’ भनेको यही हो । तर यो विकास कसको दृष्टिबाट ? कसका लागि ? र कसरी ? भन्ने प्रश्नमै हाम्रो आदिम बस्तीको मौलिक पहिचान र आत्मसम्मानको अर्थ खुल्छ । तिमीलाई थाहै छ– विकासको पश्चिमी अवधारणा खासमा उपनिवेशवादको छलि र धुर्त अनुहार थियो । अहिलेसम्म हाम्रो जस्तो तेस्रो मुलुकहरुको विकासमा यही अवधारणा हावी छ । र त, हाम्रा बस्तीका च्याङबाहरु डम्फू र ढ्याङ्ग्रो ठमेलको एन्टिक मार्केटमा विक्री गरेर मोबाइल किन्छन् गर्लफ्रेण्डलाई र सेल्फी खिचेर फेसबुकमा अपलोड गर्छन् भन्ज्याङमा उभिएर । दुध बेच्छन् अनि– ती वियर खान्छन् । कोदो र गहुँ बेच्छन् सस्तोमा– र, बहुराष्ट्रिय कम्पनीको चाउचाउमा र्र्याल चुहाउँछन् ।
तिनले देख्ने सपना आज सीमाहीन बनाएको छ– यो विश्व बजारले । आँगनको अग्र्यानिक संभावना छोडेर हामीलाई परदेशको रेडिमेड रोबोट बनाइदिएको छ र हामी पसिना बेच्न बाध्य छौं, खाडी, कोरियादेखि अन्य विकसित मुलुकसम्म । हिजो इतिहासमा शक्ती र सत्ताले हामीलाई भारी बोक्ने आदिम बस्तीका पीपा बनायो । आजको शक्ति र सत्ता (बजार)ले हामीलाई ड्राइभर बनाएको छ । प्रविधि फरक तर काम उही ।
हो, सुनगाभा ! कामका रुप फरक होलान्, सारमा म अचेल हामी सबै–सबै ग्लोबल भरिया भएको पाउँछु । र, फर्केलान एकदिन भन्दै आदिम बस्तीका मानिसहरु आफन्तजनको यादमा तड्पिन अभिसप्त छन् । उता उनीहरु पनि तड्पिएका छन् उस्तैगरि– प्यासको मरुभुमिमा, तिमीले ‘अर्को कम्प्रोमाइज’ कवितामा लेखेजस्तै–
फुलमाया, फूलमती अनि फूर्वाको
रंगीन सपना बोकेर आँखामा
दिलबहादुर, रामे अनि दोर्जेले
पखेटा हालेको थुप्रै दिनहरु विते
कहिले दुःखको झरिमा रुझ्छन् उनीहरु
कहिले औडाहाको मरुभुमिमा डढ्छन्
कहिले खजुरको रुखमा
सुखको सगरमाथाको खोजी गर्छन्…
कार्लमाक्र्सले उहिल्यै भनेका थिए– पुँजीवादले मानिसहरुलाई विभाजित पार्नेछ । परिवारमा विखण्डन ल्याउनेछ । र, यो विभाजित स्पेशभित्रै उसले मुनाफाको शक्ति आर्जन गर्नेछ । म न शास्त्रिय माक्र्सवादको अन्धोभक्त हुँनत बजारिया पुँजीवादको । तर, अहिले यही भइरहेको छ, माक्र्सले भनेजस्तै । हामीलाई टुक्र्याएर, खण्ड–खण्ड पारेर, हाम्रा हरेक सम्बन्धहरुबिच आकांक्षाको अमुर्त र अदृष्य पर्खालहरु ठड्याएर, यो ग्लोबल पुँजीवादले हाम्रै वैयक्तिक प्रेमको खिल्ली उडाइरहेको छ । र त,–
ठिक यता,
हरेक विहान
गाग्रो भरिदाँको धरररर…सँगै
फूलमाया च्यातिन्छे मनैदेखि
आफ्नो मान्छेको असिम यादले…
(‘अर्को कम्प्रोमाइज’)
किताबी रुपको ‘रातो घर’ भित्र पसेर तिम्रो काव्य भाव र चेतनालाई छामिहेर्दा धेरै कविताहरुमा तिमी पनि फूलमायाजस्तै तड्पिएकी पाएँ मैले– थुप्रै निर्जन एकान्तहरुमा । कहिले तिमी ‘चुरा’को सौभाग्यशाली प्रतीक बोकेर नारी मुक्तीको वकालतमा तड्पिएकी छ्यौ । कहिले मुइसाङलाई सम्बोधन गर्दै शहरी सपनाले सिध्याएको अधमरो पात्रहरुको कथामा तड्पिएकी छ्यौ । ‘हजुरबा’सितको नोस्टाल्जिया होस या ‘बा’ सितका पुराना संझना र अहिलेको यान्त्रिक व्यस्तता, अनि ‘आमा अब मेरो पालो’ होस या ‘असारे फूल र झरी’ मा । म सर्बत्र तिमी नै तिमी देख्छु । अझ कवि भन्दा बढ्ता तिम्रो बैयक्तिक छवि देख्छु यी हरफहरुमा ।
मेरो बिचारमा हरेक कविले आफ्नै परिवेश र समाज लेख्नुपर्छ । तिमीले पनि त्यही गरेकी छ्यौ । जस्तो कि ‘रातो घर’ का मुल थामलाई तिमीले आफ्नै तामाङ समुदायको रंग दिएकी छ्यौ । पात्र, विषय र सांस्कृतिक परिवेश मुख्यतः तामाङ समुदायको कलेवरमा पाउँछु म । यसका केही दलिनहरु समाबेसी बनाएकी छ्यौ तिमीले हाम्रो समाजजस्तै । तिम्रा कवितामा छेसाङ, मुइसाङ, सोनाम, आखे, आपा, नोर्बु, सिरमाया र पासाङहरु मात्रै छैनन्, फुलमती, गंगाराम र सितारामहरु पनि छन् । ‘प्रेषक बुद्ध’ ‘धत काठमाडौँ’ ‘सम्बोधन’, ‘कमरेड’, ‘प्रेम’ ‘अवसान’ जस्ता कविताले खास र विशिष्ट समाज भन्दा पनि आम–समाजको कथा भन्छ । जसरी तिमी तामाङ समाजको समकालिन चित्रणमा सफल छ्यौ, उत्तिकै आम समाजको प्रस्तुतिमा पनि । एउटी कवि हुनुको भर्सटाइल इमेजलाई तिमीले ‘रातो घर’को भित्ताभरि टाँसेकी छ्यौ ।
तिम्रा धेरै कविताका राम्रा पंक्तीहरु म यहाँ ‘कोट’ गर्न सकिरहेको छैन । लेख्दा लेख्दै म आफै हराएझैं भएको छु । धेरै ठाउँमा म आफैं कविताको पात्र हुँ कि जस्तो लाग्छ– यो तिम्रो सफलता हो । पाठकले रचनाभित्र आफै पाएको महसुस हुनुमा स्रष्टाले गर्व गर्नुपर्छ । तर, मैले आफूलाई पाउनुको अर्थ यहाँ अलिक भिन्न लाग्नसक्छ । तिम्रो र मेरो सांस्कृतिक परिवेश र समाज एउटै भएकोले म बढि नै तिम्रा शब्दहरुमा भिजेको हुनसक्छु । यस्तोमा ‘कल्चर बाउन्ड सिन्ड्रोम’को खतरा पनि हुनसक्छ । तर ढुक्क होऊ, तिम्रा कविताहरुमा लोकलनेश छ, अग्र्यानिकपन छ ।
सबैभन्दा मनछुने त तिम्रो कविताको ‘इन्डिङ कक’ हो । ग्लोबल भन्दा पनि लोकल नलेजको वकालत गर्न रुचाउने भएकोले म हारूकी मुराकामी या अरु कुनै चर्चित साहित्यकारको नामसित त तिमीलाई जोडन् चाहन्न । यति भन्छु– तिम्रा धेरैजसो कविताका ‘टुंग्याउनी’ लोभलाग्दा छन्– सायद हाम्रा आदिगायक पेङदोर्जेको आर्शीवाद मिलेको छ तिमीलाई ।
प्रायः कविताको शुरुवात भने सम्बोधनबाट गरेकी छ्यौ, यस्तोमा भने पाठकमा ‘मोनोटोनस’ महसुस हुने हमेशा खतरा रहन्छ– सचेत रहनु ।
सुनगाभा !
तिमीलाई भेटेर अहिलेसम्म भन्न नपाएको एउटा कुरा गर्छु अब म । यो शहरमा यस्तै छ हाल । भेट्छु भनेर समय मिलाएर पनि धोका दिनुपर्ने । आखिर म पनि त तिम्रै कविताले खिचेको परिवेशमा संघर्षरत एक ग्लोबल भरिया न हुँ ।
खैर छोडिदिउँ ।
अँ, दुई महिना अघि म म्यानमार (बर्मा)को साहित्यिक यात्रामा थिएँ । पुरानो राजधानी याङगुनबाट अर्को पुरानो शहर माण्डले जाने नाइटबसमा । मेरो दायाँतिर म्यानमारकै साहित्यकार देवेन्द्र रिजाल थिए– दुबै कानमा इयरफोन सिउरेर मस्तराम निदाउँदै । उनी नेपालकै एउटा रेडियो स्टेशनको अनलाइन भर्सन सुन्दै रहेछन् । अनलाइनको ‘एकल कविता बाचन’मा तिमी बोलिरहेकी थियौ ।
‘तपाइँ कोबाट प्रभावित हुनुहुन्छ ?’ अन्तवार्ताकारको प्रश्न ।
‘कवि फूलमान वल दाईबाट’ तिम्रो जवाफ ।
देवेन्दजी एकैपटक सिटबाट उफ्रे । हतार–हतार एउटा इयरफोन मेरो दायाँ कानमा जोडिदिए । उनी दंग थिए । तर, म भइनँ । तिमीले प्रेमपुर्वक ‘दाई’ सम्बोधन गरेर मलाई सम्मान त दियौ तर म आफैँ चाहिँ साहित्यमा केही होइन भन्ने ठान्छु । एउटा ‘दाई’ बाट ‘बहिनी’ प्रभावित हुनु चाहिँ प्राकृतिक कुरा पक्कै हुनसक्ला । तर, म आज तिम्रो कविताबाट निकै प्रभावित छु ।
र, त्यही म्यानमारमा सुनेको रेडियो कार्यक्रममा तिमीले लाएको ‘दाई’ साइनोकै पुल चढेर मैले आज विना तामाङ ‘सुनगाभा’लाई ‘तिमी’ र ‘बहिनी’को सम्बोधन गरेको छु ।
अब हामी सबै मिलेर आदिम बस्तीको ‘रातो घर’ फर्किनु छ– परिवर्तनको नया“ र लोकल पहिचानको लिउन् पोत्न ।
पुनश्चः यो भुमिका हैन चिठ्ठी हो ।
फूलमान वल
सुविधानगर, तिनकुने
काठमाडौँ
२ भदौ २०७२