यसरी आयो ‘एकात्म’

यसरी आयो ‘एकात्म’

आठजना कविका कविताहरू सङ्कलित कविता सङ्ग्रह ‘एकात्म’  राजधानीको थिएटर मलमा शनिबार आठैजना कविहरूको उपस्थितिमा  सार्वजनिक भयो ।

नेपाली बुक्स पब्लेलिकेशनले बजारमा ल्याएको यो सङ्ग्रहमा सर्लाहीका उज्ववल ढुङ्गाना, दोलखाका कुशल सुमन, रोल्पाका विष्णु सन्यास, उदयपुरका बुद्धि कटेल, दाङका नवीन अभिलाषी, भक्तपुरका पार्थक्य ‘हृदय’, सङ्खुवासभाका सिजन श्रेष्ठ र चितवनका प्रसन्न घिमिरे गरी आठ जना कविका कविताहरू समेटिएका छन्। कृतिमा प्रत्येक कविका आधा दर्जनभन्दा बढी कविताहरू सङ्कलित छन्।

पुस्तकको लोकार्पण सँगै विमर्श  कार्यक्रम पनि राखिएको थियो । फरक भूगोल र फरक परिवेशका कविका रचनाबारे विमर्श गर्न वक्ताहरू पनि फरक फरक पृष्ठभूमिका चुनिएको थियो। रङ्गमञ्चका निर्देशक तथा कलाकार राजन खतिवडा, कवि केशव सिग्देल र बुकाहोलिक्सकी संयोजक सगुना शाहले कविताबारे समीक्षात्मक चर्चा गरे।

कलाकार तथा रङ्गकर्मी राजन खतिवडाले भने, ‘नाटकमा कविताको प्रयोग गर्ने अभ्यास धेरै पुरानो हो। नेपाली नाटकमा पनि संवादबाट अभिव्यक्त गर्न नसकिएका कति कुरा व्यक्त गर्न कविताको साहरा लिने गरिन्छ ।’ कवितालाई आफ्ना नाटकमा पनि प्रयोग गरेको उदाहरण दिँदै उनले एकात्मका कतिपय कवितलाई भविष्यमा नाटकमा प्रयोग गर्न सक्ने सम्भावना धेरै रहेको बताए।


कवि सिग्देलले नेपाली कवितामा मुख्यतः मुद्दामा आधारित राजनीतिक कविता र दोषदर्शी (सिनिकल) गरी दुई प्रवृत्ति हावी रहेको सन्दर्भमा यस कृतिमा कविहरूले कला र विचारको समुचित सन्तुलन कायम राखेको दाबी गरे। उनले नवीन अभिलाषीको कविता ‘न्याय’लाई हिंसाको उल्लेखै नगरी १० वर्षे द्वन्द्वको सटिक चित्रण गरेको उदाहरणसमेत दिए।

बुकाहोलिक्सकी शाहले केही पुनरावृत्तिबाहे अधिकाङ्श कविताले आफ्नो मन छोएको बताउँदै भनिन्, ‘फरक परिवेशका भएर पनि धेरै कविताहरु माया, प्रेम, अतीतमोह र आममान्छेका सुख-दुःख जस्ता युनिभर्सल थिममा छन्।’ अन्तरक्रियात्मक शैलीमा गरिएको कृति चर्चा  कार्यक्रमको संयोजन अनुप जोशीले गरेका थिए। कार्यक्रममा कविहरु विष्णु सन्यास, नवीन अभिलाषी र सिजन श्रेष्ठले कविता वाचन समेत गरे।

सङ्ग्रह नेपाली बुक्स पब्लिकेशनले बजारमा ल्याएको हो भने यसको मूल्य रु २२५/- रहेको छ ।
यस कविता सङ्ग्रह पुस्तकको डिजिटल स्वरुप (ईबुक) पनि किनेर पढ्नसकिने छ ।

Ekatma